प्रजातन्त्रमा राज्य व्यवस्था र प्रकृया संवैधानिक मान्यता अनुरुप चल्नु उपयुक्तः पूर्वराजा ज्ञानेन्द्र शाह

grabNEWS। पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रमा राज्य व्यवस्था र प्रकृया संवैधानिक मान्यता अनुरुप चल्नु उपयुक्त हुने बताउनु भएको छ ।

७६ औं प्रजातन्त्र दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनौटको आवधिक निर्वाचन एक स्वभाविक प्रकृया भएता पनि यतिखेरको आम जनभावना मुलुकमा रहेको राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रकृयामा जानु उचित हुने बताउनु भएको हो । उहाँले यही अवस्थामा हुने निर्वाचन पछि द्वन्द, अशान्ति र खिचातानी आउन सक्ने संकेत गर्दै त्यसका लागि सहमति गरेर मात्र निर्वाचनमा जानु पर्ने पनि बताउनु भएको छ । भिडियो सन्देशमा पूर्वराजा शाहले भन्नुभएको छ – ‘राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो ।’ उहाँले जनता र राजाको संयुक्त प्रयत्नबाट पचहत्तर वर्ष अघि नेपालमा प्रजातन्त्रको मिरमिरे घाम उदाएको सम्झना गराउनुहुँदै आजको आवश्यकता पनि राष्ट्रिय सहमति नै रहेको बताउनु भएको हो ।

पूर्वराजाको सचिवालय मार्फत सार्वजनिक गरिएको ८ मिनेट लामो भिडियो सन्देशमा पूर्वराजा शाहले सिंगै मुलुक यतिबेला अस्वभाविक छटपटिको भूमरीमा फसेको तथा देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस आम देशभक्त नेपालीले गरिरहेको बताउनु भएको छ । उहाँले यस्तो दुःखद् परिस्थतिमा आलोपालो भाग लगाएर खाउँ भन्ने सोचले होइन, मिलेर काम गरौं भन्ने कर्तव्यबोधले मात्र मुलुकलाई नयाँ गति दिन सक्ने स्पष्ट पार्नु भएको छ । पूर्वराजा शाहले भन्नुभएको छ – ‘विगतमा अनेकौं नाममा आन्दोलन र संघर्ष भए, संघर्षको आडमा परिवर्तन पनि गरिए तर सबै प्रकारका परिवर्तनहरुले नेपाल र नेपालीलाई के दियो भनी आत्मसमीक्षा गर्नुपर्ने समय अहिले आएको छ ।’ उहाँले प्रजातन्त्रमा जनता आपैm जागरुक बनेर समाज र राष्ट्रसेवाको सत्कर्ममा अग्रसर हुन पाउनु पर्नेमा कसैलाई खुशी पार्नु पर्ने अनि कसैबाट तोकिनु पर्ने बाध्यात्मक व्यवस्थाको जन्जीरमा बाँधिनु परेको भन्दै दुःख पनि व्यक्त गर्नुभएको छ ।

आमजनताको समग्र हित हुने तथा विश्वसामू नेपालीको शीर उच्च हुने प्रजातान्त्रिक व्यवस्था नै नेपाललाई सुहाउने भन्दै पूर्वराजा शाहले कुनै व्यवस्थाको राम्रा र असल पक्षहरु रहे टिप्नु र राख्नु पर्ने तथा नराम्रो र खराब पक्षहरु छन् भने त्यसलाई फाल्नु र फ्याक्नु नै उपयुक्त हुने बताउनु भएको छ । उहाँले भिडियो सन्देशमा भन्नुभएको छ – ‘विश्वका कयौं राष्ट्रहरु पहिले आफ्नो देश, आफ्ना जनता र आफ्नो आवश्यकता भन्दै त्यही प्राथमिकतामा प्रजातन्त्रको पाइला बनाइरहेका छन् । हो, हामीले पनि हाम्रै धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग, परीक्षण र प्रशोधन गर्दै जानु पर्दछ ।’ सन्देशमा केही महिनाको झापा बसाई पश्चात राजधानी फर्कने क्रममा आफ्नो स्वागतमा सामेल हुने उपत्यकाका आदीवासी नागरिक एवं आम जनसमुदायप्रति आभार प्रकट गर्दै मुलुक असमान्य अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा राजसंस्थाप्रति दर्शाइएको प्रेम र सद्भावले आफ्नो मन र मुटु मात्र छोएको नभई एउटा अटल दायित्वबोधको प्रेरणा पनि मिलेको बताउनु भएको छ ।

पूर्वराजाको सन्देशमा अन्तरनिहित समसामयिक विषयहरुले चुनाव उन्मुख राजनीतिक दल र नेताहरुलाई एउटा नयाँ सास्त्रार्थको मार्ग प्रसस्त गर्ने अनुमान लगाउन सकिन्छ ।

One thought on “प्रजातन्त्रमा राज्य व्यवस्था र प्रकृया संवैधानिक मान्यता अनुरुप चल्नु उपयुक्तः पूर्वराजा ज्ञानेन्द्र शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *