बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, १४ सदस्यीय मन्त्रीमण्डल विस्तार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै नेपालको इतिहासमा सबैभन्दा कान्छा प्रधानमन्त्रीको रुपमा शाहले आफ्नो नाम दर्ज गराएका छन् । ३५ वर्षीय उनी नेपालका लागि ४० औं प्रधानमन्त्री हुन् ।

संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र शाहले १४ सदस्यीय मन्त्रीमण्डलसमेत विस्तार गरेका छन् । जस अन्तर्गत जेनजी आन्दोलनपछि अकस्मात चर्चामा आएका सुदन गुरुङ गृह मन्त्री बन्नेका छन् । उनी गोरखा – २ बाट निर्वाचित सांसद हुन् । त्यस्तै, रास्वपाका उपसभापति स्वर्णिम वाग्ले भने अर्थमन्त्री बनेका छन् । अर्थ मामिलाका जानकार उनी तनहुँबाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद हुन् ।

रास्वपाको परराष्ट्र विभागका प्रमुख शिशिर खनाल भने परराष्ट्र मन्त्री बनेका छन् । उनी यसअघि शिक्षामन्त्री बनिसकेका थिए । साहित्यकार तथा सामाजिक अभियन्ताको रुपमा परिचित गणेश पौडेल (खड्क) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् । उनी कास्की – १ बाट निर्वाचित सांसद हुन् । त्यस्तै, महोत्तरीका दीपक साह श्रममन्त्री बनेका छन् । फागुन २१ मा भएको निर्वाचनमा उनले ११ पटक मन्त्री बनेका शरतसिंह भण्डारीलाई हराएका थिए । त्यस्तै, काठमाडौं – ५ बाट निर्वाचित सस्मित पोखरेल शिक्षा तथा प्रविधि मन्त्री भनेका छन् । गत निर्वाचनमा सस्मितले तीन हेभिवेट उम्मेदवारलाई पराजित गरेका थिए । उनले नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल र राप्रपाका नेता कमल थापालाई पराजित गरेका थिए ।

नुवाकोट – १ बाट निर्वाचित सांसद विक्रम तिमिल्सिना सूचना, सञ्चार तथा प्रविधि मन्त्री बनेका छन् । अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील थिए । त्यस्तै, पत्रकारिता पृष्ठभूमिकी प्रतिभा रावल सामान्य प्रशासन मन्त्री भएकी छिन् । उनलाई रास्वपाले समानुपातिक सूचीबाट सांसद बनाएको थियो । रावल रास्वपाकी सहप्रवक्ता समेत हुन् ।

यसअघि रास्वपा संसदीय दलको नेता रहेका विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बनेका छन् । उनी काठमाडौं – ८ बाट अत्याधिक मतका साथ निर्वाचित सांसद हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुमन सायमीसहित सबैको जमानत जफत गराएका थिए । रास्वपाको सामानुपातिक सूचीमा निर्वाचित गीता चौधरी कृषि तथा सहकारी र वन मन्त्री बनेकी छिन् । अधिवक्तासमेत रहेकी उनी गत फागुनको निर्वाचनभन्दा केही दिन अघि मात्र रास्वपामा प्रवेश गरेकी थिइन् । उनी गरिब, दलित र सीमान्तकृत नागरिकलाई निःशुल्क कानुनी सहायता प्रदान गर्ने अधिवक्ताको रुपमा परिचित थिइन् ।

चर्चामा रहेजस्तै सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भएकी छिन् । २०७९ को चुनावमा काठमाडौं – २ बाट निर्वाचित गौतम यसपटक चितवन – ३ पुगेर चुनाव लडेकी थिइन् । उनले भरतपुरकी पूर्वमेयर रेनु दाहाललाई भारी मतान्तरले पराजित गर्दै सांसद बनेकी थिइन् । उनी कानुनको जानकार तथा अधिवक्ता समेत हुन् । दलित समुदायभित्र पनि निकै पछाडि रहेको बादी समुदायलाई प्रतिनिधित्व गर्दै सिता वादी महिला तथा बालबालिका मन्त्री बनेकी छिन् । सुर्खेत स्थायी घर भएकी उनी समानुपातिक सूचीबाट सांसद बनेकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्साल भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बनेका छन् । रूपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट भारी मतान्तरले विजयी भएका उनी पूर्वाधार एवं वातावरणविज्ञका रुपमा परिचित छन् । उनी काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहको सचिवालयमा पूर्वाधार एवं वातावरणविज्ञका रुपमा कार्यरत थिए । त्यस्तै, नर्सिङ पेशाबाट राजनीति हुँदै संघीय संसद्सम्म पुगेकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाकालदेखि नै साधारण सदस्यका रूपमा आवद्ध उनी समानुपातिक सूचीबाट सांसद बनेकी थिइन् । यस बाहेक रक्षा मन्त्रालय र उद्योग मन्त्रालय भने प्रधानमन्त्री बालेन्द्र शाहले नै राखेका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहकाबीच प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *