Featured Video Play Icon

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको गतिविधीमा युवा पिँढीको संलग्नता बढ्नु उत्साहको विषय भएको बताउनु भएको छ ।

नयाँ वर्ष २०८३ सालको अवसरमा एक भिडियो शुभकामना सन्देश जारि गर्दै पूर्वराजा शाहले पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधीको ज्ञान भएका उत्साही पात्रहरुको आगमनले राष्ट्रलाई फलदायी बनाउनेमा आफू विश्वस्त रहेको बताउनु भएको हो । बितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन्झन् तल झर्दै गएको भन्दै पूर्व राजा शाहले राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा निकै हेरफेर भएपनि त्यो कोरा परिवर्तनमा मात्र सिमित भएको दुःखेसो पोख्नुभयो । फलस्वरुप नेपाल केवल प्रयोगशालाको रुपमा मात्र विकास भएको भन्दै उहाँले विधी, पद्धति र व्यक्ति बदलेर मात्र समग्र स्थितिमा सुधार नहुने बताउनु भयो ।

आजको विषम र अशान्त विश्वमा हामीले हामीलाई जोगाउने, हाम्रा उत्पादित, आयातित वस्तुको जोगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिने तर्फ राज्यको गहिरो ध्यान पुग्नु पर्नेमा पनि पूर्वराजा शाहले जोड दिनुभयो । ‘‘देशको श्रोत शक्ति हो, सहि उपयोग भएमा नै समाजको कल्याण हुन्छ । अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको सम्बद्र्धन भयो भने नै देशको गौरव बढ्छ ।’’ पूर्वराजा ज्ञानेन्द्र शाहले भन्नुभएको छ – ‘‘जनचाहना समेतलाई मनन गरि देशलाई केन्द्रमा राखेर अब कदम अगाडि बढाउन विलम्ब नगरौं ।’’

देश चौतर्फी समस्याको चांगमा रहेको भन्दै पूर्वराजा शाहले आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरु र बाह्य मित्र शक्तिहरुको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्त नाजूक अवस्थामा रहेको भन्दै नयाँ वर्षमा जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु र श्रोत साधनको संरक्षण एवं जीवन जीउने मानवीय सुरक्षाको हक अधिकारको प्रत्याभुति दिन र आन्तरिक सुरक्षालाई चुस्त दुरुस्त बनाउनु पर्नेमा समेत सुझाव दिनुभएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समयमा विभिन्न चाडपर्व, दिवस र सन्दर्भहरुमा भिडियो सन्देश प्रवाह गर्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *