शव्द तथा तस्वीर : प्रकाश गोपाली

डोल्पा जिल्लाको त्रिपुराकोटमा अवस्थित बाला त्रिपुरासुन्दरी मन्दिर ठूली भेरी नदीको किनारमा रहेको रमणीय पहाडको टाकुरामा अवस्थित यो मन्दिर धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा ऐतिहासिक गौरवको अनुपम केन्द्रका रूपमा परिचित छ। यहाँ देवी त्रिपुरासुन्दरीको बाल स्वरूप ‘बाला’ को पूजा  हुने एकमात्र स्थलका रूपमा यस मन्दिरले विशिष्ट पहिचान कायम गरेको छ। श्रद्धालुहरूका अनुसार यहाँ दर्शन तथा पूजा(अर्चना गर्दा ज्ञान, शक्ति र मनोकांक्षा पूरा हुने विश्वास रहेको छ।

बाला त्रिपुरासुन्दरी मन्दिरको इतिहास करिब ९५० वर्ष पुरानो मानिन्छ। स्थानीय जनश्रुति अनुसार तत्कालीन राजा विक्रम शाहीको दरबार परिसरमा रहेको ओखलबाट देवी प्रकट भएको विश्वास गरिन्छ। त्यसपछि देवीको आदेशअनुसार उक्त स्थानमा मन्दिर स्थापना गरिएको भनाइ छ। यसले मन्दिरलाई केवल धार्मिक स्थल मात्र नभई ऐतिहासिक तथा सांस्कृतिक धरोहरको रूपमा पनि स्थापित गरेको छ।

हरेक वर्ष बडादशैं र नवरात्रिको अवसरमा यहाँ भव्य धार्मिक मेला लाग्ने गर्दछ। विशेष गरी प्रसिद्ध ‘खड्ग जात्रा’ यस क्षेत्रको सांस्कृतिक पहिचान बनेको छ। परम्परागत बाजागाजा, धार्मिक अनुष्ठान तथा स्थानीय कला(संस्कृतिको प्रदर्शनले जात्रालाई अझ आकर्षक बनाउने गर्दछ। यस अवसरमा देशका विभिन्न भागबाट हजारौँ श्रद्धालु तथा पर्यटकहरू यहाँ पुग्ने गर्छन्।

काठमाडौंबाट नेपालगन्ज हुँदै जुफाल विमानस्थलसम्म हवाई यात्रा गरी तथा त्यसपछि स्थलमार्गबाट मन्दिर पुग्न सकिन्छ। प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति र धार्मिक आस्थाको संगम रहेको यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको ठूलो सम्भावना बोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *