-आनन्द पौडेल
नेपालको राजनीतिमा युवा पुस्ताको उपस्थिति केवल एउटा परिवर्तनको संकेत मात्र होइन, यो एउटा नयाँ बहसको सुरुवात पनि हो । ‘युवा नेतृत्व’ भन्नासाथ हाम्रो मानसिकतामा उर्जावान, प्रविधिमैत्री सोच, द्रुत निर्णय क्षमता र भ्रष्टाचारमुक्त शासनको तस्वीर आउँछ । युवा मन्त्री वा प्रधानमन्त्री जस्ता पदमा बसेपछि उसले संस्थागत बाधाहरूसँग जुझ्न सकेन भने ‘अनुभवहीन’ को संज्ञा पाउँछ । बरु पुराना अनुभवी नेताभन्दा फरक शैलीले यी बाधालाई व्यवस्थित ढंगले पार गर्न सक्नु नै युवा नेतृत्वको सबैभन्दा ठूलो परीक्षा हो । अन्यथा, यो केवल उमेरको गणित मात्र रहन जान्छ । सरकार चलाउनु एउटा कम्पनी सञ्चालन गर्नुजस्तो सहज हुँदैन । कर्मचारीतन्त्रको निजी स्वार्थ, बजेटको वितरणमा दबाब समूह र राजनीतिक दलभित्रको आन्तरिक हस्तक्षेपले काम गर्न कठिन बनाइदिन्छ । सरकारको नेतृत्वमा पुगेपछि उनीहरूको वास्तविक परीक्षा सुरु हुन्छ जुन जनताको मन जित्ने अभियानभन्दा धेरै माथिको विषय हो । तर वास्तविकता फरक हुन्छ । सरकारको नेतृत्व गर्नु भनेको समूहगत निर्णय, जटिल संरचनामा समन्वय, बजेटको सीमितता र पुरानो प्रशासनिक प्रणालीसँग सहअस्तित्व रहेर काम गर्नु हो । तर, यी विशेषताहरू भन्दा पनि महत्त्वपूर्ण प्रश्न के हो भनेः के यो युवा नेतृत्वले साँच्चै सामान्य मानिसको दैनिक जीवनसँग जोडि आफुलाई महसुस गराउन सक्ला त ? सामान्य मानिसले जो सुकै आएपनि सरकारसँग ठूलाठूला भन्दा पनि आफ्नो छोराछोरीको सहज पढाइ, अस्पतालमा सहज उपचार, रोजगारीको सुनिश्चितता, सर्बसुलभ सडक, विजुली,खानेपानी, आफ्ना उत्पादन बेच्ने बजार र आर्थिक उन्नतिको स्पष्ट बाटो खोजेको हुन्छ ।
‘व्यवसाय’ होइन ‘अधिकार’ : सामान्य मानिसहरुको पहिलो अपेक्षा शिक्षासँग जोडिएको हुन्छ । गाउँदेखि शहरसम्मका जुनसुकै वर्गका अभिभावकहरूले युवा नेतृत्वको सरकार होस वा यसअघिका जुनसुकै सरकार किन नहुन, शिक्षा केवल प्रमाणपत्र वितरणको माध्यम नबनोस्, बरु सीप र रोजगारसँग जोडिने आधार बनोस् भन्ने अपेक्षा गरेका हुन । हालको अवस्थामा, सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधारको अभाव र दक्ष शिक्षकको अनुपस्थिति, निजी क्षेत्रका विद्यालयहरूमा भौतिक पूर्वाधारको अभाव र निकै मंहगो शुल्क, तालमेल नभएको पाठ्यक्रम ठूलो चुनौती बनिरहेको छ । युवा नेतृत्वको सरकारले आम मानिसको सपना केवल ‘अङ्ग्रेजी माध्यम’ होइन, बरु गुणस्तरीय शिक्षा हो जसले उसको सन्तानलाई विश्वव्यापी प्रतिस्पर्धामा उभ्याउन सकून् भन्ने बुझ्नै पर्ने छ । युवा नेतृत्वको सरकारले शिक्षालाई देशको आवश्यकता अनुसार ढाल्नुपर्छ । व्यावहारिक विषयहरू पाठ्यक्रममा समावेश गर्नुपर्छ । डिजिटल युगमा हुर्किएको युवा नेतृत्वले ‘डिजिटल क्लासरूम’ लाई केवल नारामा सीमित नराखी इन्टरनेट पहुँच, स्मार्ट क्लास र अनलाइन स्रोतहरू सबैको पहुँचमा ल्याउनुपर्छ । शिक्षकलाई राजनीतिक कार्यकर्ता मात्र नभई पेशागत रूपमा सम्मान गर्ने वातावरण युवा नेतृत्वले बनाउनुपर्छ । सामान्य मानिस यो सरकारले आफ्नो बालबालिकाको भविष्यलाई ‘प्रतिस्पर्धी’ बनाउन सक्छ कि सक्दैन भनेर हेरीरहेको छ । यदि युवा नेतृत्वले शिक्षालाई ‘व्यवसाय’ को रूपमा होइन, ‘अधिकार’ को रूपमा स्थापित गर्न सक्यो भने मात्र जनताको विश्वास जित्न सक्छ ।
सर्वसुलभ स्वास्थ्य सेवा: सामान्य मानिसको जीवनमा स्वास्थ्य सेवा भनेको संवेदनशीलताको विषय हो । कुनैपनि गम्भीर रोग लागेमा पुरा परिवारलाई नै आर्थिक रूपमा ध्वस्त बनाउन सक्छ । हाल, गाउँगाउँमा स्वास्थ्य चौकीहरू भए पनि जनशक्ति र औषधिको अभाव व्याप्त छ । युवा नेतृत्वको पहिलो चुनौती भनेको आधारभूत स्वास्थ्य सेवालाई ‘निःशुल्क र प्रभावकारी’ बनाउनु हो । ‘आयुर्वेददेखि अत्याधुनिक अस्पतालसम्म’ को पहुँच सबैको लागि समान हुनुपर्छ भन्ने अपेक्षा हुन्छ । सामान्य मानिस यो सरकारले ‘ज्यान जोगाउन’ सजिलो बनायो कि बनाएन भन्ने मापदण्डले सरकारको मूल्यांकन गर्छ । प्राथमिक स्वास्थ्य केन्द्रहरू सञ्चालनमा आएर सुत्केरी हुँदा ज्यान जोखिममा नपरोस् भन्ने सुनिश्चितता गर्नसक्नु युवा नेतृत्वको सबैभन्दा ठूलो परीक्षा हो । विदेश पलायन भइरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको अनुपात जनसंख्याको तुलनामा न्यूनतम मापदण्डभित्र ल्याउनु आवश्यक छ । युवा नेतृत्वले ‘बाध्यकारी सेवा’ को नीति लागू गर्ने होइन, तर ग्रामीण क्षेत्रमा काम गर्न प्रोत्साहित गर्ने वातावरण (जस्तैः छात्रवृत्ति, आवास सुविधा) बनाउनुपर्छ । स्वास्थ्य बीमा योजना सामान्य मानिसको लागि जटिल र दुर्गम बनिरहेको अवस्थामा दावी भुक्तानीको प्रक्रिया सरल र पारदर्शी बनाई सबै नागरीकहरुलाई अनिवार्य विमाको दायरामा आउनको लागि अभिप्रेरीत गर्न सक्नुपर्ने छ ।
‘के गर्ने?’ भन्ने अनिश्चितता : नेपालको युवा जनसंख्या ठूलो छ, तर यो ‘जनसंख्या बोनस’ अवसर बन्न सकेको छैन । सामान्य मानिसको घरमा ‘विदेश जाने’ वा ‘बेरोजगार बसेर दिन कटाउने’ बीचको विकल्प मात्र देखिन्छ । यस्तो अवस्थामा युवा नेतृत्व सरकारप्रतिको सबैभन्दा ठूलो अपेक्षा भनेको ‘देशमै रोजगारीको सिर्जना’ हो । सामान्य मानिस सरकारसँग रोजगारीको ‘योजना’ मात्र होइन, ‘नतिजा’ हेर्छ । जबसम्म युवाहरू विदेश जान लामबद्ध हुन्छन्, तबसम्म सरकारको रोजगार नीति असफल मानिन्छ । सामान्य मानिस चाहन्छ, उसको छोराले सानो पसल खोल्न पनि सहज रूपमा ऋण पाओस् र त्यो व्यवसायलाई करको डरले हैरान नबनाओस् । युवा नेतृत्वले ‘उद्यमीलाई सहजीकरण’ गर्नुपर्छ । एउटा सानो उद्योग दर्ता गर्दा लाग्ने झन्झट, ऋणको पहुँच र कानुनी जटिलतालाई सरल बनाउनु आजको आवश्यकता हो । हाल विभिन्न क्षेत्रमा केन्द्रित गरी दिदैआएका विभिन्न शिपमुलक प्रशिक्षण तथा तालिमहरु मात्र भएन त्यो तालिम वा प्रशिक्षणपछि रोजगारीको ग्यारेन्टी हुनुपर्छ । सरकारले निजी क्षेत्रसँग साझेदारी गरी ‘पेड इन्टर्नशिप’ कार्यक्रमलाई अनिवार्य बनाउनुपर्छ । नेपालको अधिकांश जनता अझै कृषिमा आबद्ध छन् । तर, कृषिलाई ‘परम्परागत जीविका’ बाट ‘व्यवसाय’ मा रूपान्तरण गर्ने जिम्मेवारी पनि युवा नेतृत्वकै सरकारको हो । देशभरका खाली जमीनमा उत्पादन हुनसक्ने खेतीको पहिचान गरी यी जमिनहरुमा सिँचाइको व्यवस्थापन, बिक्रीको लागि बजारीकरणको सुनिश्चितता र कृषि अनुदान सही व्यक्तिसम्म पुग्ने चेन निर्माण गर्नुपर्छ ।
विकासः सडक, पानी र बत्ती: विकास भन्नासाथ धेरैले ठूला पूर्वाधार, सुरुङमार्ग, अन्तर्राष्ट्रिय विमानस्थलको कल्पना गर्छन् । तर सामान्य मानिसको लागि विकास भनेको उसको घरदेखि बजारसम्मको सडक, धारामा नियमित पानी, र लोडसेडिङ नहुने बिजुली हो । युवा नेतृत्वले ‘ठूला योजनाको राजनीति’ भन्दा पनि ‘सम्पन्न गर्ने योजनाको राजनीति’लाई प्राथमिकता दिनुपर्छ । अधुरा आयोजनाको कारण जनताको दैनिकी प्रभावित हुनु हुँदैन । अहिले सामान्य मानिस युवा नेतृत्व सरकारले कस्तो विकासको मोडेल लागु गर्न खोजिरहेको छ भनेर हेरी रहेको छ । यदि विकासले स्थानीय जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउन सकेन भने, त्यो विकास अर्थहीन हुन्छ । विकासका कामहरू योजनाबद्ध र गुणस्तरीय हुनुपर्छ । खाली भएका गाउँहरुमा विकासको नाममा सडक, पानी , बत्तीको व्यवस्था गरीएको र यी गाउँमा सुविधालिने जनसंख्या अत्यन्तै न्यून रहेको र बनेका पूर्वाधारहरु पनि वर्षदिनमै सडक फुट्ने, पुल भासिने वा प्रयोग विहिन अवस्थामा पुग्ने गरेका छन् । यस्तो कार्य अन्त्य गर्नमा युवा नेतृत्वको प्रतिबद्धता हुनुपर्छ जसले बर्षौदेखि हुदै आएको अनावश्यक आर्थिक लगानीको समेत बचत हुन सकोस र सो रकम अन्य क्षेत्रमा परिचालन गर्न सकियोस ।
आर्थिक उन्नतिः मूल्यवृद्धि र क्रयशक्तिको सङ्कट: सामान्य मानिसले युवा नेतृत्व सरकारलाई उसको दैनिक खर्च धान्न सहज बनायो कि बनाएन भन्ने आधारमा सम्झन्छ । अर्थतन्त्रको जटिल सूचकभन्दा पनि दैनिक जीवनयापनको लागि सस्तोमा दाल,चामल र तेल पाइयो कि पाइएन भन्ने कुराले सरकारको लोकप्रियता निर्धारण गर्छ । आवश्यक वस्तुहरू (तेल, चामल, दाल, तरकारी) को मूल्यमा हुने उतारचढावले सामान्य परिवारको बजेट अस्तव्यस्त बनाउँछ । सामान्य मानिसको लागि ‘अर्थतन्त्र’ को परिभाषा भनेको बजारमा सामानको मूल्य र आफ्नो खल्तीको क्षमता बीचको सम्बन्ध हो । युवा नेतृत्व सरकारप्रतिको सबैभन्दा व्यापक अपेक्षा भनेको मूल्यवृद्धि नियन्त्रण र जनताको क्रयशक्ति वृद्धि गर्नुमा नै छ । युवा नेतृत्वले बजार अनुगमनलाई प्रभावकारी बनाउन र कालोबजारीलाई नियन्त्रण गर्न कडा कदम चाल्नुपर्छ । विदेशी वस्तुको आयात घटाउँदै स्थानीय उत्पादनलाई बढावा दिने नीति लागू गर्नुपर्छ । ‘नेपाली वस्तु, नेपाली बजार’ भन्ने अवधारणालाई व्यवहारमा उतार्न सके मात्र दीर्घकालीन आर्थिक उन्नति सम्भव छ ।
युवा नेतृत्वको वास्तविक परीक्षा: युवा नेतृत्व भन्नाले केवल उमेर मात्र होइन, अपेक्षाको नयाँ सेट पनि हो । सामान्य मानिसले युवा नेताबाट पुरानो खालको ‘वाचा र भाषण’ होइन, प्रविधिमैत्री शासन, द्रुत परिणाम, पारदर्शिता र संवेदनशीलताको आशा गरेको हुन्छ । तर, यथार्थमा युवा नेतृत्व पनि सत्तामा पुगेपछि पुरानै राजनीतिक संरचना र बाध्यताको शिकार हुने खतरा हुन्छ । सामानान्य मानिसको दैनिक जीवनसँग जोडिएका शिक्षा, स्वास्थ्य, रोजगार, विकास र आर्थिक उन्नतिका मुद्दाहरूमा केन्द्रित हुन नसकेमा युवा नेतृत्व पनि पुरानै राजनीतिक ‘डोको’ बन्न पुग्छ ।
अन्त्यमा, सामान्य मानिसको अपेक्षा सरल छः “हाम्रो बच्चाले राम्रो शिक्षा पाओस्, बिरामी पर्दा उपचार पाओस्, देशमै रोजगारी मिलोस्, बाटो–पानी–बत्तीको समस्या नहोस् र महँगीले हैरान नपारोस्”। यी कुराहरू नै सरकारको सफलताको वास्तविक परीक्षा हुन् । युवा नेतृत्वले यी विषयहरूलाई आफ्नो प्राथमिकताको केन्द्रमा राख्न सक्यो भने मात्र, यो सरकारप्रति सामान्य मानिसको विश्वास दीर्घकालीन रहन सक्छ । नत्र, उमेर मात्रले ‘परिवर्तन’ ल्याउँदैन; परिवर्तन ल्याउनको लागि संकल्प, इमानदारी र जनताको दैनिकी बुझ्ने सामथ्र्यको आवश्यकता पर्छ । आजको युवा नेतृत्वले यो सामथ्र्य प्रदर्शन गर्न सक्यो भने, नेपालको भविष्य उज्वल छ ।