-आनन्द पौडेल

नेपालको राजनीतिमा युवा पुस्ताको उपस्थिति केवल एउटा परिवर्तनको संकेत मात्र होइन, यो एउटा नयाँ बहसको सुरुवात पनि हो । युवा नेतृत्व’ भन्नासाथ हाम्रो मानसिकतामा उर्जावान, प्रविधिमैत्री सोच, द्रुत निर्णय क्षमता र भ्रष्टाचारमुक्त शासनको तस्वीर आउँछ । युवा मन्त्री वा प्रधानमन्त्री जस्ता पदमा बसेपछि उसले संस्थागत बाधाहरूसँग जुझ्न सकेन भने अनुभवहीन’ को संज्ञा पाउँछ । बरु पुराना अनुभवी नेताभन्दा फरक शैलीले यी बाधालाई व्यवस्थित ढंगले पार गर्न सक्नु नै युवा नेतृत्वको सबैभन्दा ठूलो परीक्षा हो । अन्यथा, यो केवल उमेरको गणित मात्र रहन जान्छ । सरकार चलाउनु एउटा कम्पनी सञ्चालन गर्नुजस्तो सहज हुँदैन । कर्मचारीतन्त्रको निजी स्वार्थ, बजेटको वितरणमा दबाब समूह र राजनीतिक दलभित्रको आन्तरिक हस्तक्षेपले काम गर्न कठिन बनाइदिन्छ । सरकारको नेतृत्वमा पुगेपछि उनीहरूको वास्तविक परीक्षा सुरु हुन्छ जुन जनताको मन जित्ने अभियानभन्दा धेरै माथिको विषय हो । तर वास्तविकता फरक हुन्छ । सरकारको नेतृत्व गर्नु भनेको समूहगत निर्णय, जटिल संरचनामा समन्वय, बजेटको सीमितता र पुरानो प्रशासनिक प्रणालीसँग सहअस्तित्व रहेर काम गर्नु हो । तर, यी विशेषताहरू भन्दा पनि महत्त्वपूर्ण प्रश्न के हो भनेः के यो युवा नेतृत्वले साँच्चै सामान्य मानिसको दैनिक जीवनसँग जोडि आफुलाई महसुस गराउन सक्ला त ? सामान्य मानिसले जो सुकै आएपनि सरकारसँग ठूलाठूला भन्दा पनि आफ्नो छोराछोरीको सहज पढाइ, अस्पतालमा सहज उपचार, रोजगारीको सुनिश्चितता, सर्बसुलभ सडक, विजुली,खानेपानी, आफ्ना उत्पादन बेच्ने बजार र आर्थिक उन्नतिको स्पष्ट बाटो खोजेको हुन्छ ।

व्यवसाय’ होइन ‘अधिकार’ : सामान्य मानिसहरुको पहिलो अपेक्षा शिक्षासँग जोडिएको हुन्छ । गाउँदेखि शहरसम्मका जुनसुकै वर्गका अभिभावकहरूले युवा नेतृत्वको सरकार होस वा यसअघिका जुनसुकै सरकार किन नहुन, शिक्षा केवल प्रमाणपत्र वितरणको माध्यम नबनोस्, बरु सीप र रोजगारसँग जोडिने आधार बनोस्  भन्ने अपेक्षा गरेका हुन । हालको अवस्थामा, सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधारको अभाव र दक्ष शिक्षकको अनुपस्थिति, निजी क्षेत्रका विद्यालयहरूमा भौतिक पूर्वाधारको अभाव र निकै मंहगो शुल्क, तालमेल नभएको पाठ्यक्रम ठूलो चुनौती बनिरहेको छ । युवा नेतृत्वको सरकारले आम मानिसको सपना केवल ‘अङ्ग्रेजी माध्यम’ होइन, बरु गुणस्तरीय शिक्षा हो जसले उसको सन्तानलाई विश्वव्यापी प्रतिस्पर्धामा उभ्याउन सकून् भन्ने बुझ्नै पर्ने छ । युवा नेतृत्वको सरकारले शिक्षालाई देशको आवश्यकता अनुसार ढाल्नुपर्छ । व्यावहारिक विषयहरू पाठ्यक्रममा समावेश गर्नुपर्छ । डिजिटल युगमा हुर्किएको युवा नेतृत्वलेडिजिटल क्लासरूम’ लाई केवल नारामा सीमित नराखी इन्टरनेट पहुँच, स्मार्ट क्लास र अनलाइन स्रोतहरू सबैको पहुँचमा ल्याउनुपर्छ । शिक्षकलाई राजनीतिक कार्यकर्ता मात्र नभई पेशागत रूपमा सम्मान गर्ने वातावरण युवा नेतृत्वले बनाउनुपर्छ । सामान्य मानिस यो सरकारले आफ्नो बालबालिकाको भविष्यलाई प्रतिस्पर्धी’ बनाउन सक्छ कि सक्दैन भनेर हेरीरहेको छ । यदि युवा नेतृत्वले शिक्षालाई ‘व्यवसाय’ को रूपमा होइन, अधिकार’ को रूपमा स्थापित गर्न सक्यो भने मात्र जनताको विश्वास जित्न सक्छ ।

सर्वसुलभ स्वास्थ्य सेवा: सामान्य मानिसको जीवनमा स्वास्थ्य सेवा भनेको संवेदनशीलताको विषय हो । कुनैपनि गम्भीर रोग लागेमा पुरा परिवारलाई नै आर्थिक रूपमा ध्वस्त बनाउन सक्छ । हाल, गाउँगाउँमा स्वास्थ्य चौकीहरू भए पनि जनशक्ति र औषधिको अभाव व्याप्त छ । युवा नेतृत्वको पहिलो चुनौती भनेको आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क प्रभावकारी’ बनाउनु हो ।आयुर्वेददेखि अत्याधुनिक अस्पतालसम्म’ को पहुँच सबैको लागि समान हुनुपर्छ भन्ने अपेक्षा हुन्छ । सामान्य मानिस यो सरकारले ‘ज्यान जोगाउन’ सजिलो बनायो कि बनाएन भन्ने मापदण्डले सरकारको मूल्यांकन गर्छ । प्राथमिक स्वास्थ्य केन्द्रहरू सञ्चालनमा आएर सुत्केरी हुँदा ज्यान जोखिममा नपरोस् भन्ने सुनिश्चितता गर्नसक्नु युवा नेतृत्वको सबैभन्दा ठूलो परीक्षा हो ।  विदेश पलायन भइरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको अनुपात जनसंख्याको तुलनामा न्यूनतम मापदण्डभित्र ल्याउनु आवश्यक छ । युवा नेतृत्वले ‘बाध्यकारी सेवा’ को नीति लागू गर्ने होइन, तर ग्रामीण क्षेत्रमा काम गर्न प्रोत्साहित गर्ने वातावरण (जस्तैः छात्रवृत्ति, आवास सुविधा) बनाउनुपर्छ । स्वास्थ्य बीमा योजना सामान्य मानिसको लागि जटिल र दुर्गम बनिरहेको अवस्थामा  दावी भुक्तानीको प्रक्रिया सरल र पारदर्शी बनाई सबै नागरीकहरुलाई अनिवार्य विमाको दायरामा आउनको लागि अभिप्रेरीत गर्न सक्नुपर्ने छ ।

के गर्ने?’ भन्ने अनिश्चितता : नेपालको युवा जनसंख्या ठूलो छ, तर यो ‘जनसंख्या बोनस’ अवसर बन्न सकेको छैन । सामान्य मानिसको घरमा ‘विदेश जाने’ वा बेरोजगार बसेर दिन कटाउने’ बीचको विकल्प मात्र देखिन्छ । यस्तो अवस्थामा युवा नेतृत्व सरकारप्रतिको सबैभन्दा ठूलो अपेक्षा भनेको ‘देशमै रोजगारीको सिर्जना’ हो । सामान्य मानिस सरकारसँग रोजगारीको ‘योजना’ मात्र होइन, नतिजा’ हेर्छ । जबसम्म युवाहरू विदेश जान लामबद्ध हुन्छन्, तबसम्म सरकारको रोजगार नीति असफल मानिन्छ । सामान्य मानिस चाहन्छ, उसको छोराले सानो पसल खोल्न पनि सहज रूपमा ऋण पाओस्  र त्यो व्यवसायलाई करको डरले हैरान नबनाओस् । युवा नेतृत्वले उद्यमीलाई सहजीकरण’ गर्नुपर्छ । एउटा सानो उद्योग दर्ता गर्दा लाग्ने झन्झट, ऋणको पहुँच र कानुनी जटिलतालाई सरल बनाउनु आजको आवश्यकता हो । हाल विभिन्न क्षेत्रमा केन्द्रित गरी दिदैआएका विभिन्न शिपमुलक प्रशिक्षण तथा तालिमहरु मात्र भएन त्यो तालिम वा प्रशिक्षणपछि रोजगारीको ग्यारेन्टी हुनुपर्छ । सरकारले निजी क्षेत्रसँग साझेदारी गरी पेड इन्टर्नशिप’ कार्यक्रमलाई अनिवार्य बनाउनुपर्छ । नेपालको अधिकांश जनता अझै कृषिमा आबद्ध छन् । तर, कृषिलाई परम्परागत जीविका’ बाट व्यवसाय’ मा रूपान्तरण गर्ने जिम्मेवारी पनि युवा नेतृत्वकै सरकारको हो । देशभरका खाली जमीनमा उत्पादन हुनसक्ने खेतीको पहिचान गरी यी जमिनहरुमा सिँचाइको व्यवस्थापन, बिक्रीको लागि बजारीकरणको सुनिश्चितता र कृषि अनुदान सही व्यक्तिसम्म पुग्ने चेन निर्माण गर्नुपर्छ ।

विकासः सडक, पानी बत्ती: विकास भन्नासाथ धेरैले ठूला पूर्वाधार, सुरुङमार्ग, अन्तर्राष्ट्रिय विमानस्थलको कल्पना गर्छन् । तर सामान्य मानिसको लागि विकास भनेको उसको घरदेखि बजारसम्मको सडक, धारामा नियमित पानी, र लोडसेडिङ नहुने बिजुली हो । युवा नेतृत्वले ठूला योजनाको राजनीति’ भन्दा पनि सम्पन्न गर्ने योजनाको राजनीति’लाई प्राथमिकता दिनुपर्छ । अधुरा आयोजनाको कारण जनताको दैनिकी प्रभावित हुनु हुँदैन । अहिले सामान्य मानिस युवा नेतृत्व सरकारले कस्तो विकासको मोडेल लागु गर्न खोजिरहेको छ भनेर हेरी रहेको छ । यदि विकासले स्थानीय जनताको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउन सकेन भने, त्यो विकास अर्थहीन हुन्छ । विकासका कामहरू योजनाबद्ध र गुणस्तरीय हुनुपर्छ । खाली भएका गाउँहरुमा विकासको नाममा सडक, पानी , बत्तीको व्यवस्था गरीएको र यी गाउँमा सुविधालिने जनसंख्या अत्यन्तै न्यून रहेको र बनेका पूर्वाधारहरु पनि वर्षदिनमै सडक फुट्ने, पुल भासिने वा प्रयोग विहिन अवस्थामा पुग्ने गरेका छन् । यस्तो कार्य अन्त्य गर्नमा युवा नेतृत्वको प्रतिबद्धता हुनुपर्छ जसले बर्षौदेखि हुदै आएको अनावश्यक आर्थिक लगानीको समेत बचत हुन सकोस र सो रकम अन्य क्षेत्रमा परिचालन गर्न सकियोस ।

आर्थिक उन्नतिः मूल्यवृद्धि क्रयशक्तिको सङ्कट: सामान्य मानिसले युवा नेतृत्व सरकारलाई उसको दैनिक खर्च धान्न सहज बनायो कि बनाएन भन्ने आधारमा सम्झन्छ । अर्थतन्त्रको जटिल सूचकभन्दा पनि दैनिक जीवनयापनको लागि सस्तोमा दाल,चामल र तेल पाइयो कि पाइएन भन्ने कुराले सरकारको लोकप्रियता निर्धारण गर्छ । आवश्यक वस्तुहरू (तेल, चामल, दाल, तरकारी) को मूल्यमा हुने उतारचढावले सामान्य परिवारको बजेट अस्तव्यस्त बनाउँछ ।  सामान्य मानिसको लागि अर्थतन्त्र’ को परिभाषा भनेको बजारमा सामानको मूल्य र आफ्नो खल्तीको क्षमता बीचको सम्बन्ध हो । युवा नेतृत्व सरकारप्रतिको सबैभन्दा व्यापक अपेक्षा भनेको मूल्यवृद्धि नियन्त्रण र जनताको क्रयशक्ति वृद्धि गर्नुमा नै छ । युवा नेतृत्वले बजार अनुगमनलाई प्रभावकारी बनाउन र कालोबजारीलाई नियन्त्रण गर्न कडा कदम चाल्नुपर्छ । विदेशी वस्तुको आयात घटाउँदै स्थानीय उत्पादनलाई बढावा दिने नीति लागू गर्नुपर्छ । ‘नेपाली वस्तु, नेपाली बजार’ भन्ने अवधारणालाई व्यवहारमा उतार्न सके मात्र दीर्घकालीन आर्थिक उन्नति सम्भव छ ।

युवा नेतृत्वको वास्तविक परीक्षा: युवा नेतृत्व भन्नाले केवल उमेर मात्र होइन, अपेक्षाको नयाँ सेट पनि हो । सामान्य मानिसले युवा नेताबाट पुरानो खालको ‘वाचा र भाषण’ होइन, प्रविधिमैत्री शासन, द्रुत परिणाम, पारदर्शिता र संवेदनशीलताको आशा गरेको हुन्छ । तर, यथार्थमा युवा नेतृत्व पनि सत्तामा पुगेपछि पुरानै राजनीतिक संरचना र बाध्यताको शिकार हुने खतरा हुन्छ । सामानान्य मानिसको दैनिक जीवनसँग जोडिएका शिक्षा, स्वास्थ्य, रोजगार, विकास र आर्थिक उन्नतिका मुद्दाहरूमा केन्द्रित हुन नसकेमा युवा नेतृत्व पनि पुरानै राजनीतिक ‘डोको’ बन्न पुग्छ ।

अन्त्यमा, सामान्य मानिसको अपेक्षा सरल छः हाम्रो बच्चाले राम्रो शिक्षा पाओस्, बिरामी पर्दा उपचार पाओस्, देशमै रोजगारी मिलोस्, बाटो–पानी–बत्तीको समस्या नहोस् महँगीले हैरान नपारोस्”। यी कुराहरू नै सरकारको सफलताको वास्तविक परीक्षा हुन् । युवा नेतृत्वले यी विषयहरूलाई आफ्नो प्राथमिकताको केन्द्रमा राख्न सक्यो भने मात्र, यो सरकारप्रति सामान्य मानिसको विश्वास दीर्घकालीन रहन सक्छ । नत्र, उमेर मात्रले परिवर्तन’ ल्याउँदैन; परिवर्तन ल्याउनको लागि संकल्प, इमानदारी र जनताको दैनिकी बुझ्ने सामथ्र्यको आवश्यकता पर्छ । आजको युवा नेतृत्वले यो सामथ्र्य प्रदर्शन गर्न सक्यो भने, नेपालको भविष्य उज्वल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *