
वरिष्ठ एवं अग्रज पत्रकार शशिकान्त अधिकारीको ८२ वर्षको उमेरमा निधन भएको छ। उहाँको शनिबार बिहान काठमाडौंमा निधन भएको हो। उहाँको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
नेपाली पत्रकारिता क्षेत्रमा लामो समय सक्रिय रहनुभएका अधिकारी अनुभवी र सम्मानित पत्रकारका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा पत्रकार तथा सम्पादकीय जिम्मेवारी निर्वाह गर्नुभएको थियो। विशेषगरी अन्नपूर्ण पोस्ट दैनिकमा उहाँको योगदान उल्लेखनीय मानिन्छ। पछिल्ला वर्षहरूमा उहाँ हिमालय टाइम्स दैनिकमा नियमित रूपमा समसामयिक विषय र विचारप्रधान स्तम्भ लेख्दै आउनुभएको थियो।
स्वर्गीय अधिकारीका श्रीमती तथा दुई छोरा हुनुहुन्छ। वरिष्ठ पत्रकार अधिकारीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, निर्भीक र विचारशील व्यक्तित्व गुमाएको छ।