काठमाडौं । रूपन्देहीको भैरहवास्थित एशियन बुद्ध होटलले नेपालका स्टार फुटबलर अञ्जन विष्टसँगै बसेर फिफा विश्वकप फुटबल हेर्न पाउने व्यवस्था मिलाएको छ ।
फिफा विश्वकप फुटबललाई लक्षित गर्दै होटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत फुटबल प्रेमीहरूका लागि सो कार्यक्रमको व्यवस्था मिलाएको हो । होटलका अध्यक्ष पारस अधिकारीका अनुसार व्यापारिक प्रयोजनभन्दा माथि उठेर खेलकुदको माध्यमबाट समाजलाई जोड्ने र स्थानीय स्तरमा फुटबलको माहोल सिर्जना गर्ने उद्देश्यले यो खालको कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
यसअघि भैरहवामा ‘स्पोट्र्स बार’को अभाव महशुस गर्दै होटलले क्रिकेटका गतिविधिमार्फत खेलकुद बारको अवधारणा सुरु गरेको थियो । सोही पूर्वाधारलाई प्रयोग गर्दै यसपटक फुटबल समर्थकहरूका लागि सामूहिक जमघट र मनोरञ्जनको थलो बनाउन लागिएको अध्यक्ष अधिकारीको भनाइ छ । फिफा विश्वकप फुटबल यही जेठ २८ गतेबाट सुरु हुँदैछ । कुल ४८ टोली सहभागी हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा सञ्चालन हुँदैछ ।
राष्ट्रिय खेलाडी अञ्जन विष्टको उपस्थितिले दर्शकहरूलाई थप गौरवान्वित र उत्साहित बनाउने होटलले जनाएको छ । एक्लै बसेर फुटबल हेर्नुभन्दा साथीभाइको जमघटमा सामूहिक रूपमा खेल हेर्नुको मजा बेग्लै हुने भन्दै होटलले भैरहवा र आसपासका सम्पूर्ण खेलप्रेमीहरूलाई होटलमा आएर विश्वकपको आनन्द लिन आह्वान गरेको छ । मध्यरातमा हुने खेलहरूका बाबजुद पनि दर्शकहरूको उल्लेख्य उपस्थिति रहने र खेलप्रेमीहरूमा बेग्लै उत्साह पैदा हुने विश्वास होटलले गरेको छ ।