ग्राबन्यूज, काठमाडौ ।
नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटन प्रवर्द्धनका लागि जारी सहकार्यअन्तर्गत पर्यटन क्षेत्रका सरोकारवालाहरूको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आगामी असार १० देखि १२ सम्म बोर्ड परिसरमा मा ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला आयोजना हुने भएको छ।
नेपाल पर्यटन बोर्ड र टिकटकले विगतको वर्षदेखि नेपालको प्राकृतिक, सांस्कृतिक, साहसिक तथा जीवनशैलीसम्बन्धी पर्यटन अनुभवलाई विश्वव्यापी डिजिटल प्लेटफर्ममार्फत प्रवर्द्धन गर्दै आएका छन्। सोही सहकार्यलाई थप सशक्त बनाउने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यशालामा पर्यटन व्यवसायी तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित क्षेत्रका गरी ३०० जना सहभागी रहनेछन्।
तीन दिन सञ्चालन हुने कार्यशालामा सहभागीहरूलाई उनीहरूको कार्यक्षेत्रका आधारमा समूह विभाजन गरी एकदिने गहन प्रशिक्षण प्रदान गरिनेछ। कार्यक्रममा ट्राभल स्टोरीटेलिङ, छोटो भिडियो निर्माण, दर्शक सहभागिता अभिवृद्धि, गन्तव्य ब्रान्डिङ तथा डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोगमार्फत पर्यटन प्रवर्द्धन सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिनेछ। टिकटकका विज्ञ प्रशिक्षकले सहजीकरण गर्ने उक्त प्रशिक्षणले सहभागीहरूलाई अन्तर्राष्ट्रिय तथा आन्तरिक बजारलाई लक्षित गरी प्रभावकारी पर्यटन सामग्री सिर्जना गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई आधुनिक डिजिटल सामग्री निर्माण सम्बन्धी सीप प्रदान गर्नु नेपालको पर्यटन गन्तव्यको अन्तर्राष्ट्रिय पहुँच बढाउन तथा देशका विविध पर्यटन अनुभवलाई विश्वसामु प्रामाणिक र आकर्षक ढंगले प्रस्तुत गर्न महत्वपूर्ण हुने विश्वास लिएको छ।
कार्यशालामा सहभागी हुन इच्छुक व्यक्तिहरूले नेपाल पर्यटन बोर्डको आधिकारिक दर्ता पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। आवेदन पेश गर्ने अन्तिम मिति २०८३ असार ७ तोकिएको छ।