ललितपुर
ललितपुरको सांस्कृतिक पहिचान र धार्मिक आस्थाको सबैभन्दा ठूलो प्रतीक मानिने रातो मच्छिन्द्रनाथ जात्रा (बुङ्ग द्यः जात्रा) यस वर्ष २०८३ बैशाख ०८ गतेदेखि औपचारिक रूपमा सुरु भएको छ। हरेक वर्ष जस्तै यसपटक पनि जात्राले ललितपुरलाई ऐतिहासिक, धार्मिक र सामाजिक ऊर्जा ले भरिदिएको छ। करिब ६० फिट अग्लो काठबाट निर्माण गरिएको विशाल रथलाई तान्त्रिक विधिअनुसार पूजा–अर्चना गरेपछि तान्न सुरु गरिएको हो। परम्पराअनुसार रथलाई गाबहालबाट तानेर मङ्गलबजार, सुन्धारा र लगनखेल हुँदै अन्तिम गन्तव्य जावलाखेल पुर्याइनेछ। रथ तान्ने क्रममा हजारौँ भक्तजन, गुठियार, स्थानीय बासिन्दा र दर्शकहरूको उल्लेखनीय सहभागिता देखिएको छ। ललितपुरको सभ्यतासँग गहिरो रूपमा जोडिएको यो जात्रा वर्षा र सहकालको कामनासँग सम्बन्धित मानिन्छ। किंवदन्ती अनुसार, रातो मच्छिन्द्रनाथको आगमनपछि उपत्यकामा अनिकाल अन्त्य भएको विश्वास रहँदै आएको छ। यही विश्वासका कारण सदियौँदेखि यो जात्रा निरन्तर रूपमा मनाइँदै आएको छ। जात्राको सम्पूर्ण व्यवस्थापन गुठी प्रणालीमार्फत हुँदै आएको छ। रथ निर्माणदेखि लिएर तान्ने मार्ग, पूजा विधि र सुरक्षासम्म गुठियारहरूको सक्रिय भूमिका रहने गर्छ। यस वर्ष पनि स्थानीय गुठी, स्वयंसेवक र सुरक्षाकर्मीहरूको समन्वयमा जात्रा व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।


रथ तान्ने क्रममा केही स्थानमा रथ अड्किने, दिशा परिवर्तनमा समय लाग्ने जस्ता अवस्था देखिए पनि यसलाई जात्राको स्वाभाविक प्रक्रिया मानिन्छ। स्थानीय बुढापाकाहरू भन्छन्, “रथ सजिलै नचले देवता खुसी हुँदैनन्।” आधुनिक समयमा पनि यस्ता विश्वासले जात्रालाई अझै जीवित र अर्थपूर्ण बनाइरहेको देखिन्छ। जात्राको सबैभन्दा महत्वपूर्ण र प्रतीक्षित कार्यक्रम भोटो देखाउने जात्रा हो। परम्पराअनुसार, रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेपछि सार्वजनिक रूपमा भोटो देखाइन्छ। यस वर्ष भोटो देखाउने कार्यक्रम २०८३ जेठ १८ गते जावलाखेलमा आयोजना हुनेछ। राज्यका उच्च पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि तथा हजारौँ सर्वसाधारणको उपस्थितिमा यो कार्यक्रम सम्पन्न हुने परम्परा छ। भोटो देखाउने चलन पनि एउटा रोचक ऐतिहासिक कथासँग जोडिएको छ, जसमा नागराज, किसान र हराएको भोटोको प्रसंग जोडिन्छ। आज पनि कसैले भोटोको दाबी नगरे पनि यो परम्परा निरन्तरता पाउँदै आएको छ कानुनभन्दा विश्वास बलियो हुने उदाहरण जस्तै।


जात्राको अवसरमा ट्राफिक व्यवस्थापन, भीड नियन्त्रण र सरसफाइमा विशेष ध्यान दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। स्थानीयवासीलाई धैर्य र सहयोगका लागि आग्रह गरिएको छ। परम्परा, आस्था र समुदायको शक्ति देखाउने रातो मच्छिन्द्रनाथ जात्रा केवल धार्मिक उत्सव मात्र होइन, ललितपुरको आत्मा हो। समय बदलिए पनि डोरी तानेर देवता ल्याउने संस्कार उस्तै छ पुरानो तर सधैं रिलेटेबल।

फोटोः प्रकाश गोपाली