-सुरेश आचार्य,

नेपालका ३३औँ प्रधान न्यायाधीशका रूपमा २०८३ वैशाख २४ गते सिफारिस गरिएका डा. मनोज शर्मासामु चुनौतीहरूको चाङ  नै  छ । नबिर्सौ, उहॅाबाट ती कुरामा क्रान्तिकारी सुधार ल्याउनकै लागि बालेन नेतृत्वको संवैधानिक परिषदले नेपालको न्यायीक क्षेत्रको सर्बोच्च प्रशासकीय अधिकारीका रूपमा डा.शर्मालाई क्रमभंग गरी स्थापित गराएको हो । आजको नेपालको न्यायपालिकाका सबैभन्दा निर्णायक परीक्षामा डा.मनोज शर्मा परीक्षण दिन खडा हुनुभएको छ । निजको नियुक्ति त्यस्तो संवेदनशील समयमा भएको छ, जतिबेला सर्वोच्च अदालत गम्भीर संस्थागत संकटबाट गुज्रिरहेको छ। हालै भएको आगजनीका घटना सर्वोच्च अदालत माथिको जनविश्वास गुमेका कारणले मात्र भएको होइन,  करिब ९० प्रतिशत सक्रिय मुद्दाका फाइलहरू नष्ट भएपछि न्यायप्रणाली झनै कमजोर बनेको अवस्था छ। नयाँ प्रधान न्यायाधीशका लागि सबैभन्दा कठिन र ऐतिहासिक परीक्षाहरु मध्ये पहिलोमा न्यायीक क्षेत्रको लगभग शुन्यमा पुगेको स्वतन्त्रता, न्यायीक विवेक र आत्मसम्मान फेरि उठाउनु डा.मनोज शर्माको पहिलो चूनौती हो भने न्यायीक क्षेत्र खासगरी सर्बोच्च अदालतमा बढेको संस्थागत भ्रष्टाचार नियन्त्रण गर्नु डा.मनोज शर्माको दोश्रो चूनौती हो । यस्तै तेस्रोमा वर्षौँदेखि थुप्रिएको मुद्दाको चाङ घटाउनु सक्नु हो भने चौथोमा साधारण विपन्न र उच्च पहुच नभएका नागरिकलाई न्यायबाट वञ्चित गराउने पट्यारलाग्दो ढिलासुस्ती अन्त्य गर्नु डा.शर्माका अगायी भएका यी गम्भीर चूनौतीहरू हुन् ।

के गर्ने त ?
नयॅा प्रधान न्यायाधीस डा.मनोज शर्मालेः नेपालको इतिहासका संवेदनशील तथा निर्णायक मुद्दाहरू पुनः खोल्ने (reopen) र न्यायीक पुनरावलोकन (judicial review)  गर्ने साहसिक कदम चाल्न सक्नुपर्छ । बालेन सरकारले अवैध बस्तीहरूलाई भत्काए जसरी नै न्यायीक क्षेत्रका बार, बेञ्च र सरकारी वकिल बीच जरा गाडेर बसेको कथित सेटिङ’ संस्कृतिलाई तोड्न सुरू गर्नुपर्छ।डा.मनोज शर्माले आगामी ३० दिनमा यस्ता  रूपान्तरणका कार्यहरुको थालनी शुरु गर्नु  भयो भने, परम्परागत वरिष्ठता क्रम तोडेर गरिएको उहाँको असामान्य चयनले पहिलोपटक नेपाली जनतालाई वास्तविक आशा र न्यायिक सान्त्वना दिन सक्नेछ।

न्यायीक क्षेत्रका चुनौतीहरू: मुद्दाको भयावह चाङ : २०८३ वैशाखसम्म सर्वोच्च अदालतमा २४ हजारभन्दा बढी मुद्दा विचाराधीन रहेको छन्। हालैको अशान्ति र फाइल विनाशपछि अवस्था अझ जटिल बनेको छ। यस्तो अवस्थामा नयाँ प्रधान न्यायाधीशको सफलता “हरिकृष्ण कार्की प्रतिवेदन” का सुधार कार्यक्रम कार्यान्वयनमा निर्भर रहनेछ। विशेषगरी हालको गोलाप्रथा प्रणालीलाई प्रतिस्थापन गर्ने स्वचालित मुद्दा व्यवस्थापन प्रणाली अत्यन्त आवश्यक मानिएको छ । भ्रष्टाचार र ‘सेटिङ’ संस्कृतिमाथि नियन्त्रण : जनधारणामा नेपालको न्यायपालिका सबैभन्दा बढी अविश्वसनीय र भ्रष्ट संस्थामध्ये एकका रूपमा चित्रित हुँदै आएको छ। यस अवस्थामा “बार–बेञ्च–सरकारी वकिल” बीचको कथित मिलेमतो वा “सेटिङ” नै न्यायिक सुधारको प्रस्थान विन्दू बन्नुपर्ने देखिन्छ। यसका लागि बार,बेञ्च,सरकारी वकिललाई सम्पत्ति छानविनका लागि तयार पार्न सक्नुभयो भने तपाईको पहिलो जीत हुनेछ ।

 “३० दिन” को यथार्थः ३० दिनभित्र दशकौँदेखि संस्थागत रूपमा गढेर रहेको विकृति पूर्ण रूपमा अन्त्य गर्नु ऐतिहासिक रूपमा अत्यन्त कठिन लक्ष्य हो। तर, डा. शर्माको कार्यकाल २०८९ सम्म रहने भएकाले उहाँसँग संरचनागत सुधारका लागि पर्याप्त समय हुनेछ। छोटो कार्यकाल भएका अघिल्ला प्रधान न्यायाधीशहरूभन्दा यो पक्ष उहाँका लागि बलियो अवसर र आधार बन्न सक्छ। वरिष्ठता तोडिएको ऐतिहासिक चयनः संवैधानिक परिषद्ले कार्यवाहक प्रधान न्यायाधीशलाई समेत उछिन्दै वरिष्ठतामा चौथो स्थानमा रहेका डा.शर्मालाई सिफारिस गर्नु नेपालको न्यायिक इतिहासमै असाधारण निर्णय हो । यसले व्यापक बहस जन्माएको छ। अन्ततः यो निर्णय सफल कि असफल भन्ने कुरा न्यायपालिका थप स्वतन्त्र, निष्पक्ष र प्रभावकारी बन्छ कि राजनीतिक प्रभावको थप औजारमा रूपान्तरण हुन्छ भन्ने कुराले नै निर्धारण गर्नेछ।

अबको मुख्य प्रश्न: के ३० दिन वास्तवमै न्यायीक क्षेत्रका विगतका विकृति र बिसंगतिहरूसॅगको साइनो तोड्नेू कार्यमा अर्थपूर्ण संकेत दिन पर्याप्त समय हुनसक्छ ? पूर्ण रूपान्तरण सम्भव नहोला, तर ३० दिनभित्र केही प्रतीकात्मक र साहसिक कदमहरू जस्तै उच्चस्तरीय छानबिन, विवादास्पद मुद्दाहरूको पुनरावलोकन, डिजिटल फाइल प्रणालीको सुरुवात, वा भ्रष्टाचारविरुद्ध कठोर अनुशासनात्मक कारबाही, यी र यस्ता कार्यहरू भएमा जनताले न्यायलयमा पनि परिवर्तन सुरु भयो भन्ने अनुभूति गर्न सक्छन्। नेपालमा अहिले न्यायमात्र होइन, न्यायप्रतिको विश्वास पुनर्स्थापना गर्नु नै सबैभन्दा ठूलो चुनौती हो। नयॅा प्रधान न्यायाधीस डा.मनोज शर्मालाई तमाम् चूनौतीहरू सामना गर्ने साहसका साथ शक्ति पृथक्कीकरणको सिद्धान्त (Principle of Separation of Powers) अनुरूप न्याय क्षेत्रलाई ट्रयाकमा हिॅडाउने सफलता मिलोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *